२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update
धादिङको सडक पूर्वाधार विकास :

धादिङमा २ अर्ब ११ करोडभन्दा बढी बजेट विनियोजन, फुर्के खोला र घाटबेँसी पुल निर्माण अघि बढाइने

धादिङमा २ अर्ब ११ करोडभन्दा बढी बजेट विनियोजन, फुर्के खोला र घाटबेँसी पुल निर्माण अघि बढाइने

धादिङ जिल्लाको सडक पूर्वाधार विकासका लागि कुल २ अर्ब ११ करोड ४० लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। जिल्लाका विभिन्न सडकखण्डको स्तरोन्नति तथा कालोपत्रेसँगै लामो समयदेखि प्रतीक्षामा रहेका फुर्के खोला र घाटबेँसी पुल निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार धादिङको सडक पूर्वाधार विकासका लागि उक्त बजेट विनियोजन गरिएको हो।

श्रेष्ठका अनुसार फुर्के खोलामा आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर ब्रिज निर्माण गरिनेछ। यसका लागि तत्काल बोलपत्र प्रक्रिया सुरु गरिने र पुल निर्माण सम्पन्न गर्न आवश्यक थप बजेट छुट्टै व्यवस्था गरिनेछ।

त्यस्तै, घाटबेँसी पुल निर्माणको काम नेपाल सरकारअन्तर्गतको पूर्वाधार विकास कम्पनीमार्फत तत्काल सुरु गरिने जनाइएको छ। उक्त पुल सम्पन्न गर्न आवश्यक बजेटसमेत छुट्टै व्यवस्था गरिने उल्लेख छ।

सडकतर्फ सबैभन्दा बढी बजेट मास्टर–पिपलटार–परेवाटार सडक स्तरोन्नति तथा कालोपत्रेका लागि १ अर्ब ५१ करोड ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, धादिङबेँसी–साङ्कोष–तिप्लिङ सडक स्तरोन्नतिका लागि ५० करोड, ज्वालामुखी–बुङ्कोटघाट–बेनीघाट सडकका लागि १० करोड र धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोशीखोला–फोस्रेटार सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

सांसद श्रेष्ठले फुर्के खोला र घाटबेँसी पुल निर्माणका लागि आवश्यक बजेट उल्लेखित कुल बजेटमा समावेश नरहेको स्पष्ट पार्नुभएको छ।

धादिङको सडक सञ्जाललाई पुनः जोड्ने मात्र नभई पहिलेभन्दा अझ बलियो, सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विनियोजित बजेटअनुसार काम अघि बढेमा धादिङका महत्वपूर्ण सडक सञ्जालको स्तरोन्नति, आवागमन सहजता तथा जिल्लाको यातायात पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल