२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

यस वर्षको मनसुन अबको तीन दिनपछि अर्थात् आउँदो शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ । मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान र बङ्गलादेशको पूर्वी भागहरूसम्म मनसुनको आगमन भएको जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।

सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन शुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ । यस वर्षको मनसुन सरदरभन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरिएको हो । यसैबीच आज तीन वटा वायुको प्रभावले देशका धेरै ठाउँमा मौसम बदलीको अवस्था छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज रातिदेखि भने बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले लुम्बिनीदेखि पूर्वसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।