
नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु एक अर्ब २२ करोड ९३ लाख ५ हजारको बजेट सार्वजनिक गरेको छ। बजेटमार्फत नगरपालिका सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको छ।
नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै भन्नुभयो,“यो बजेट हामीले संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, विषयगत क्षेत्रका आवश्यकता, विज्ञ तथा सरोकारवालाका सुझाव र वर्तमान परिस्थिति तथा सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा तयार गरेका हौं।”
बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ ।
उपप्रमुख विश्वकर्माले समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएको बताउनुभयो ।
बजेटसँगै नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी (एएए), डिजिटल सेवा विस्तार र सुशासन प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि सारेको जनाएको छ।

नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख भीमप्रसाद ढुंगानाले नगरसभाको १७औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षको योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका भएको उल्लेख गर्नुभयो। उहाँले नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
प्रस्तुत नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘एक वडा, एक उत्पादन’, व्यवसायिक कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्योग प्रवद्र्धन, कालोपत्रे सडक सञ्जाल, सबै घरमा खानेपानी, गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा, नमूना श्रोत विद्यालयको प्रवद्र्धन र युवा स्वरोजगार जस्ता कार्यक्रम समावेश छन्।शिक्षामा गुणस्तरीयता बढाउन नमूना विद्यालय, शिक्षक मूल्यांकन, पोषण सामग्री वितरण, छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा उच्च शिक्षाका लागि अनुसन्धानवृत्तिको व्यवस्था गरिने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा भने सबै वडामा स्वास्थ्य संस्था, ९८ प्रकारका निःशुल्क औषधी, मोबाइल स्वास्थ्य सेवा, टोल टोलमा स्वास्थ्य परीक्षण, टेलिमेडिसिन, योग तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।कृषिमा माटो परीक्षण, उपयुक्त बालीको सिफारिस, अनुदान र बजारीकरणमा जोड दिइनेछ।
मोबाइल भेटेनरी सेवा, व्यवसायिक पशुपालन र घरेलु उत्पादनको प्रवद्र्धन गरिनेछ। उद्यमशीलताको प्रवद्र्धनका लागि स्टार्टअप व्यवसायमा बिउ पुँजी, सहुलियत कर्जा, युवा तालिम तथा रोजगारी मेला, वैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय स्थापना सहयोगजस्ता कार्यक्रम अघि सारिएको छ।नगरका सबै वडामा कालोपत्रे सडक, खानेपानी योजना, फोहोर व्यवस्थापन, खुला व्यायामशाला, नमूना बस्ती विकास र भू–उपयोग नीति लागू गरिनेछ। पर्यटन प्रवद्र्धनका लागि होमस्टे, धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, स्थानीय संस्कृति संरक्षण, खेल क्षेत्रको पूर्वाधार निर्माण, कला–साहित्य प्रवद्र्धन लगायत कार्यक्रम समावेश छन्।
महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी, सीमान्तकृत समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ। शान्ति सुरक्षा, जनउत्तरदायी प्रशासन, पारदर्शिता, सूचना–सञ्चार प्रणाली सुधार, विपद् व्यवस्थापन, गुनासो सुन्ने र जवाफ दिने संयन्त्रलाई समेत प्रभावकारी बनाउने उल्लेख छ।नगरप्रमुख ढुंगानाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट योजना, जिम्मेवारी र समयरेखा तय गरिएको जानकारी दिनुभयो। हाम्रो काम कागजमा मात्र होइन, व्यवहारमा देखिनेछ। नगरवासीको सहभागिता र विश्वासकै आधारमा हामी शिक्षित, सशक्त र समुन्नत नीलकण्ठ निर्माण गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।