
धादिङ ।
गोरखाका राजा राम शाहको नामबाट धादिङको नीलकण्ठ नगरपालिकाले तल्लोबेसी डाँडामा राम शाह चौतारो ‘राम शाह पार्क’ निर्माण गरेको छ ।
प्राकृतिक सुन्दरताले भरपुर स्थानलाई पर्यटकीय गन्तव्य बनाउने र गोरखा नगरपालिकासँगको भगेनी सम्बन्धप्रगाढ राख्ने उद्देश्यसहित नगरपालिकाले पार्क निर्माण गरेको हो । नीलकण्ठ नगरपालिका–७, तल्लोबेसी डाँडामा पर्ने वनदेवी मन्दिरसँगै निर्माणाधिन यो पार्क सदरमुकाम धादिङबेसीबाट नजिकको गन्तव्य बन्नेछ । चारैतिरको रहणीय वातावरणले मन आनन्दित बन्नेछ । माथीपट्टी अग्ला डाँडाहरु, तलपट्टी थोपल र किनारका खेतहरुले अझ मनमोहक छ । बालबालिका, बृद्धबृद्धा र युवा पुस्ता सबैको रोजाइमा पर्नेछ ।
धादिङबेसी मलेखु सडकबाटै नियाल्न सकिने यो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकास कुमार श्रेष्ठले बताउनुभयो । ‘राम शाह चौतारो अर्थात धर्म चौतारोको नामबाट निर्माण सुरु गरिएपनि यसलाई पार्कको रुपमा विकसित गरिने योजना छ’, श्रेष्ठले भन्नुभयो–‘बृद्ध, बालबालिका र युवा पुस्ता सबैका लागि मनमोहक स्थान बनाउने परिकल्पना गरिएको छ ।’

गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबीच भगेनी सम्बन्धछ । गोरखा र नीलकण्ठले बेला बेला सिकाइ आदान प्रदान गर्दै आएको छ ।यसैक्रममा नीलकण्ठ नगरपालिकाले गोरखा नगरपालिको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने र गोरखा नगरपालिकाले नीलकण्ठ नगरपालिकाको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने योजना अनुरुप गोरखा नगरपालिकाको पहिचान झल्काउने रामशाह चौतारोलाई नीलकण्ठ नगरपालिकाले अनुशरण गरेको हो । २०७८ सालमा गोरखा नगरपालिकाले बारपाकमाआयोजना गरेको संयुक्त कार्यपालिका बैठकबाटभएको निर्णयलाई यस वर्ष कार्यान्वयनमा ल्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
नीलकण्ठ–८ ससाहबाट थोपलखोला पुल तरेर यो पार्कमा पुग्न सकिन्छ । सडकदेखि पार्कसम्म पुग्न करिब एक सय २० मिटररेलिङसहित सिँडी निर्माण गरिएको छ । पार्क प्रवेशद्धारमा सुन्दर गेट निर्माण गरिएको छ । पार्कमा तत्कालिन राजा राम शाहको मुर्ती राखिनेछ । मुर्तिको सुरक्षाका लागि आठ वटा भुजा भएको सुरक्षा घर निर्माण गरिएको छ । कुँदिएको ढुंगा प्रयोग गरी संरचना निर्माण गरिएको छ । पार्कभित्र भुँइमा पनि ढुंगा छापेर चिटिक्क पारिदैछ ।
नीलकण्ठ नगरपालिकाको आन्तरिक श्रोतबाट ७० लाखमा ठेक्का खालेको भएपनि साइराम कन्ट्रक्शनले पिएस बाहेक ४७ लाख चार हजारमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको हो । पार्कको फिनिसिङ भने भइसकेको छैन । मुर्ति राख्ने, सिँडीमा ढुंगा छाप्ने र रंगरोगन लगायतको काम यसै वर्ष सकिनेछ । थप काम गर्नका लागि बागमती प्रदेश सरकारले यस वर्ष १० लाख विनियोजन गरेको छ ।