
३१ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा धादिङबेसीमा आज शुभकामना आदन–प्रदान कार्यक्रम गरिएको छ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङले कार्यक्रमको आयोजना गरेको हो ।
तमू ह्यल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शंकर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले आदिवासी जनजातिहरु आफ्नो मुद्धामा भन्दा पनि राजनितिक दलको मुद्धाहरुमा केन्द्रित भएको बताएका थिए । विभिन्न राजनितीक पार्टीमा आबद्ध भएकै कारण जनजातीका जातीय मुद्धाहरु ओझेलमा परेको सहभागिहरुले बताएका थिए ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका पूर्व सचिव डिलबहादुर गुरुङ, धादिङबेसी तमू समाजका अध्यक्ष हिराबहादुर गुरुङ, उपाध्यक्ष श्याम बहादुर गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका वरिष्ठ उपाध्यक्ष बलबहादुर गुरुङ, सदस्य जितबहादुर गुरुङ, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङ लगायतले आदिवासी जनजाजतीको हक अधिकारको विषयमा भनाई राखेका थिए ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
आदिवासी जनजाति ऐन २०७४ अनुसार आदिवासी जनजाति भन्नाले आदिवासी जनजाति आयोगको सिफारिसमा नेपाल सरकारले तोकेको जाति वा समुदायलाई बुझाउँछ । आयोगमा अहिलेसम्म विभिन्न ६० वटा आदिवासी जातजाति सूचीकृत छन् । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा नेपालमा १ सय ४२ जातजाति रहेका छन् ।