मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट वस्तीका किसान निराश बनेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफुले उत्पादन गरेको काँक्रोले मूल्य नपाँदा निराश बनेका हुन् । अघिल्लो वर्षहरुमा काँक्रोबाट मात्रै एक सिजनमा तीन लाखसम्म नगद बुझेका किसानले अहिले ५० हजारको पनि काँक्रो बिक्रि गर्न नसकेको गडीका स्थायीय रमेश श्रेष्ठले गुनासो गर्नुभयो ।

गडी र मास्कर ! यी दुई गाउँ धादिङ र चितवनको सिमावर्ती गाउँ हो । यहाँका करिब ७० घरपरिवारले बारीमा काँक्रो लगाएका छन् । भौगोलिक हिसावमा विकटमा पर्ने गडी र मास्करमा धेरैजसो विपन्न चेपाङ समुदायको बसोबास छ ।
यसपालिको काँक्रो खेतीले मुनाफा त दिएन नै लगानी उठाउन कठिन भएको किसानहरुको भनाई छ । पोहोर प्रतिकिलो ९० रुपैंयादेखि एक सय रुपैयाँसम्म पाइन्थ्यो, यसपालि बढीमा ४५ रुपैँया र थोरैमा २२ रुपैयाँसम्म झरेको छ’, मास्करका किसान सन्दीप चेपाङ भन्नुहुन्छ–‘भाडा, मजदुरी र मेहनत जोड्दा हामीले घाटा मात्र बेहोरेका छौं । बीउ रोप्दाखेरिको पैसा पनि उठ्दैन जस्तो छ ।’

‘काँक्रोमा फल लाग्नुअघि नै रोग लाग्यो । पहेलो हुँदै बोटै सुक्न थाल्यो, डाक्टर आफै आएर हे¥यो, केही कम भयो जस्तो लाग्थ्यो’, चेपाङ सुनाउनुहुन्छ,–‘बल्लतल्ल बँचेको बोटमा फलेको काँक्रोले पनि बजार मूल्य पाएन । अब फाइदा कमाउने आशा त छैन नै लगानी उठाउन पनि नसक्ने भैयो ।’

पोहोर साल आठ पाकेट बीउ लगाएर दुई लाख ४६ हजार कमाएकोमा यसपाली अहिलेसम्म जम्मा २२ हजारको मात्रै काँक्रो बिक्री भएको चन्द्र चेपाङको भनाई छ । उहाँका अनुसार अघिल्लो वर्षहरुमा प्रतिकिलो ९० रुपैंयादेखि एक सय ४० रुपैयाँसम्ममा बेचिएको काँक्रो यो वर्ष सबैभन्दा बढी मूल्य पाउँदा ४५ रुपैँयासम्म पाइयो, अहिले २२ रुपैयाँमा पनि नबिक्ने अवस्था छ । बीउ लगाउँदाको खर्च, मजदुरी र गाडी भाडा उठाउन पनि हामीलाई धौधौ छ’, उहाँले भन्नुभयो ।

एक हलको मेलो बारीमा ८ पाकेट जति बीउ लगाइन्छ । एक पाकेट बीउ किनेर लगाउन मात्रै तीनदेखि चार हजारसम्म लाग्छ । मास्कर र गडीका किसानहरु कसैले दशदेखि ५० पाकेटसम्म बीउ लगाएका छन् । सानो लगानी गर्नेले पनि घाटा ब्यहोर्नु परेको छ भने ठूलो लगानी गर्नेहरु बढी मारमा परेका छन् ।

‘पोहोर परार एक लट काँक्रो बेच्दा ४५ हजारसम्म आउँथ्यो, अहिले पाँच हजार पनि आउँदैन’, किसान रामलाल चेपाङ भन्नुहुन्छ, ‘कति दुःख गरेर लगायौं तर, मूल्य नपाएपछि यहाँका सबै किसान घाटा व्यहोर्न बाध्य छौं ।’ गडी आसपासका किसानले काँक्रो करिब २ घण्टाको बाटो पार गर्दै पृथ्वी राजमार्गसम्म झारेर धादिङ र चितवनका बजारमा विक्रि गर्दै आएका छन् ।

दक्षिणी धादिङको विकटमा उत्पादन भएको काँक्रो जिल्लाका ठूला बजारहरुमा भने व्यापारीहरुले प्रतिकिलो ६० रुपैँयादेखि ७० रुपैँया सम्ममा उपभोक्तालाई विक्रि गरिरहेका छन् । आपूर्ति धेरै माग कम भएकाले मूल्य घटेको व्यापारीहरुको भनाई छ । कृषि ज्ञान केन्द्रहरू र स्थानीय तहले व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्दै आएका छन् । बजार व्यवस्थापनमा ध्यान दिन नसक्दा किसानले उत्पादनबाट घाटा व्यहोर्नु परेको हो । स्थानीय सरकार र सम्बन्धित कार्यालयहरुले उत्पादन मात्र हैन, बिक्रीमा पनि ध्यान जरुरी देखिन्छ ।

Facebook Comments