
चेपाङ समुदायले आज छोनाम अर्थात् न्वागी पर्व मनाउँदैछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउन थालिएको थियो । उनीहरुले सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् ।
यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वागी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागीलाई उत्सवका रूपमा मनाउने गरिएको छ ।
आज सामूहिक रूपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ ।
न्वागी पर्वका दिन घैया धानको चामल, कागुनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्वलाई चेपाङले नयाँ अन्न खान शुरु गर्ने दिनका रूपमा पनि लिन्छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् ।
यसैबीच बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनाम (न्वागी) को अवसरमा प्रदेशका तीन वटा जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकालेर आज आइतवार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । यस्तै चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ । तीन दिनको सार्वजनिक बिदा भए पनि हिजो शनिवार थियो । गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।