अरब सागरको प्रणाली, पश्चिमी वायु र मोन्था चक्रवातका कारण झन्डै एक हप्तासम्म बदली, वर्षा र हिमपात भएर मौसम खुलेको दुई दिनमै फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ ।

आज सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी हुँदै काठमाण्डौ उपत्यकासम्म नै बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाजुरा, रुकुम, मनाङलगायतका जिल्लामा सामान्य वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्ययम हिमपात पनि भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव कमजोर रहेकोले ठूलो वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहणका काममा सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । सकेसम्म भोलिसम्म माथिल्लो क्षेत्रको भ्रमणमा नजानु उचित हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव भोलि बेलुकादेखि कमजोर हुँदै केही दिनमै मौसम खुल्ने महाशाखाले जनाएको छ । मौसमविद्हरूले काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिम क्षेत्रमा केही दिन धान काटेर खेतमा नछाड्न सुझाव दिएका छन् ।

Facebook Comments