मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेश सभाको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ । मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू आज बिहानको बैठकमा उपस्थित नभएपछि उपसभामुख बबिताकुमारी राउत ईशरले दिउँसो दुई बजेसम्मका लागि स्थगित गर्नुभयो ।

यसअघि हिजो पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभएको थियो । तर प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान साढे ८ बजेका लागि नै बैठक तोकेको थियो । अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो ।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाएको जानकारी दिनुभएको थियो । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

Facebook Comments