
बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगो लागेको थियो । आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।