२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिरहाको मुसहर बस्तीमा खेतमा राखिएको १६ क्विन्टल धान जलेर नष्ट

सिरहाको मुसहर बस्तीमा खेतमा राखिएको १६ क्विन्टल धान जलेर नष्ट

सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वाको मुसहर बस्तीमा खेतमा राखिएको धानको कुन्यूमा आगलागि हुँदा १६ क्विन्टल धान जलेर नष्ट भएको छ । शनिबार राति अज्ञात समूहले खेतमा राखिएको धानमा आगो लगाइदिदा रमेशी सदायको पाँच जनाको परिवारले वर्षभरिको अन्न गुमाएको छ ।

७२ वर्षका रमेशी सदायका अनुसार खडेरीका बेला धेरै खर्च गरेर सिँचाइ गरी खेती गरिएको धान भोलिपल्ट घर भित्र्याउने तयारीमा राखिएको थियो । एकै रातमा वर्षभरि खाने अन्न खरानी बनाइदिएकाले अब परिवार कसरी बाँच्ने भन्ने चिन्ता उहाँलाई छ । उहाँकी श्रीमती भुल्लीदेवी सदायले १ सय ३० बोरा धान त्रिपालमा राखेर कुन्यू बनाइएको बताउँदै त्यसमा कसैले आगो लगाएको दाबी गर्नुभयो ।

कान्छा छोरा लाले सदायले पनि धानसँगै पराल, गुइँठा, चाडपर्वका खर्चदेखि छोराको पढाइसमेत प्रभावित भएको बताउनुभयो । आगो लगाएको आशंकामा परिवारले स्थानीय आशाकुमार रायसहित पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी रमेशबहादुर पालका अनुसार घटनास्थलको आवश्यक प्रमाण संकलनसँगै शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरी दैनिक हाजिरीमा राखिएको छ ।

धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साहले विपन्न परिवारको अन्न जलाइएको घटनालाई अक्षम्य अपराध भन्दै अपराधी पत्ता लागेको खण्डमा कडा कारबाहीको माग गर्नुभएको छ । धनगढीमाई नगरपालिका मेयर शिवशंकर महतोसहितको टोलीले घटनास्थल निरीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराइने आश्वासन पनि दिएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । सदाय परिवार अहिले घटनामा संलग्न व्यक्तिमाथि कारबाही र तत्काल राहतको प्रतीक्षामा छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।