धादिङबेसीमा भोली पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश अन्तर–जिल्ला स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप–२०८२ महिला भलिबल प्रतियोगिताको तयारी सकिएको आयोजकले जनाएको छ ।
आज पत्रकार सम्मेलन मार्फत प्रतियोगीता सञ्चालनका विषयमा जानकारी गराउँदै प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल टोली सहभागी हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ तिलकले बताउनुभयो ।
प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवनपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहित बागमती प्रदेशका ८ जिल्लाको सहभागिता रहनेछ । जसमा धादिङ आयोजक भएका कारण दुई टिम रहने छ भन्ने अरु जिल्लाबाट १–१ टिम रहने छन् । खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने भएकोले काठमाडौं, भक्तपुर र ललितपुरका टोलीहरूले प्रतियोगितामा सहभागिता जनाएका छैनन् ।
प्रतियोगीताको भोली पहिलो दिन ६ ओटा खेल हुनेछ । भोली विहान ८ बजे धादिङ ए र मकवानपुर, ९ बजे नुवाकोट र रामेछाप, १० बजे चितवन र सिन्धुपाल्चोक, ११ बजे मकवानपुर र सिन्धुली, मध्यान्न १२ बजे रसुवा र धादिङ बी र दिउँसो २ बजे धादिङ ए र सिन्धुली विच खेल हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले रु २ लाख, उपविजेताले रु १ लाख र तेस्रो हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी स्पाइकर, सेटर, डिफेन्स, सर्वर र बेस्ट प्लेयर सहित ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगीतामा सहभागी खेलाडीहरुले खाना तथा आवासको व्यवस्था आँफैले गर्नुपर्ने बताएको छ । होटल व्यवसायीहरुसँग कम शुल्कमा खेलाडीहरुलाई खाना तथा आवासको लागि आह्वान गरिएको जिल्ला भलिवल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।











