काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान २ः५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा रेफर गरिएको थियो।
दुर्घटनामा चन्द्रागिरि नगरपालिका–१२ हरियालीका ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, स्कुटरको पछाडि सवार चन्द्रागिरि नगरपालिका–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपालको पनि बिहान ७ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











