धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका–७ का ४८ वर्षीय विशाल भन्ने रुद्रबहादुर गिरीलाई साउन १२ गते नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक गाउँपालिका–५ बुङचुकस्थित सार्वजनिक स्थानमा गिट्टी, बालुवा धुने वासिङ मेसिनको विषयलाई लिएर भएको विवादका क्रममा गिरीले गाउँपालिका अध्यक्ष ४९ वर्षीय परशुराम खतिवडामाथि मुक्काले गाला र टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घटनापछि उनी फरार रहेका थिए।
घटनापछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका गिरीलाई साउन १३ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।











