उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत धादिङको खनीयाबास गाउँपालिकामा तरकारी खेती तथा बाख्रापालन कृषक पाठशाला सञ्चालन गर्ने अगुवा कृषकहरूबीच समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ।
क्यानेडियन फुडग्रेन्स बैंक तथा आड्रा नेपाल सहयोगमा प्रयास नेपाल, धादिङको सञ्चालन गरेको रिलिफ परियोजना अन्तर्गत आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, कृषि शाखा प्रमुख जीवन तामाङ, पशु सेवा शाखा प्रमुख रोसनी चन्द, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगायत २४ जना अगुवा कृषकहरूको सहभागिता रहेको थियो।
बैठकमा जलवायु कृषक पाठशाला मार्फत सञ्चालन गरिएका गतिविधिहरूको समीक्षा, अनुभव तथा सिकाइ आदानप्रदान र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
परियोजनाले कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि तथा पशुपालन अभ्यासको प्रवर्द्धन, उत्पादन र आयआर्जनमा वृद्धि तथा दिगो जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा जोड दिएको छ।
अगुवा कृषकहरूको सक्रिय सहभागिता, स्थानीय सरकारसँगको समन्वय र प्राविधिक सहयोग मार्फत कृषक परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउँदै समृद्ध र उत्थानशील कृषक समुदाय निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रममा प्रयास नेपाल, धादिङका फिल्ड संयोजक प्रतीक अवस्थी र लैङ्गिक एसोसिएट शर्मिला गुरुङले परियोजना अन्तर्गत सञ्चालित जलवायु कृषक पाठशालाका गतिविधि तथा तिनको महत्त्वबारे जानकारी गराउनुभएको थियो।
समिक्षा बैठकमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले कृषक पाठशाला मार्फत कृषकहरूको व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि प्रविधि र पशुपालन अभ्यासको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जलवायु उत्थानशील जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा योगदान पुगेको बताउनु भयो ।











