अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री खतिवडा र निबर्तमान अध्यक्ष राजन खकुरालको नेतृत्वमा गएको नवनिर्वाचित कार्यसमितिले आज सम्माननीय सभामुख डोलप्रसाद अर्याल र धादिङ क्षेत्र नम्बर २ का संघीय साम्सद माननीय बोध नारायण श्रेष्ठसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो। भेटका क्रममा धादिङ जिल्लाको समग्र विकास, आर्थिक समृद्धि, लगानीका सम्भावना तथा जिल्लाको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका विषयमा छलफल भएको थियो।
छलफलमा धादिङको विकासका लागि स्वदेश तथा विदेशमा रहेका धादिङेलीहरूको पुँजी, सीप, अनुभव र क्षमतालाई कसरी जिल्लाको समृद्धिसँग जोड्न सकिन्छ भन्ने विषयमा विचारविमर्श गरिएको थियो। जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।
सो अवसरमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउन पहल गर्न अन्तर्राष्ट्रिय धादिङ समाजलाई आग्रह गर्नुभएको थियो। उहाँले बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै धादिङको विकाससँग जोडिएका पूर्वाधारका विषयमा पनि छलफल गर्नुभएको थियो।
त्यसैगरी, भोटेकोशी बाढिले त्रिशुली नदिमा रहेको पुल बाढिले क्षती पुर्याएपछीको पुन निर्माणको लागि अन्तरास्ट्रिय धादिङ समाजले चासो दिन अनुरोध गरिएको छ। भेटमा सम्माननिय सभामुख अर्यालले सरकार यस बिषयमा गम्भीर रहेको र निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। निर्माणलगायत जिल्लाका महत्वपूर्ण पूर्वाधारसम्बन्धी विषयमा समेत कुराकानी भएको थियो। जिल्लाको विकास र समृद्धिका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र तथा विदेशमा रहेका धादिङेलीबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो।
अन्तर्राष्ट्रिय धादिङ समाजले विदेशमा रहेका धादिङेलीहरूलाई आफ्नो जन्मभूमिको विकाससँग जोड्ने, जिल्लामा लगानीका अवसर खोज्ने र कृषि, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न पहल गर्दै आएको छ।
नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा भएको यस भेटघाटलाई धादिङको विकासका सम्भावना पहिचान गर्ने, सरकारी तहसँग समन्वय बढाउने र विदेशमा रहेका धादिङेलीहरूको लगानी तथा अनुभवलाई जिल्लाको समृद्धिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।











