पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्स्पान अगाडी संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले आज दोस्रो अनौपचारिक मतदान गरेको छ ।
महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ । त्यसअघि उहाँको उत्तराधिकारी बन्न दौडमा रहेका उम्मेदवारमध्ये कसको समर्थन बलियो बन्दै गएको छ भन्ने आकलन गर्न सुरक्षा परिषद्ले स्ट्र पोल अर्थात अनौपचारिक मतदान गरेको हो ।
यसअघि भएको पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहनुभएको थियो । १५ सदस्यीय सुरक्षा परिषद्का सदस्यहरूले उम्मेदवारप्रति आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए । प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल छन् ।
पहिलो मतदानपछि इक्वेडरकी इभोन ए–बकीले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीका अनुसार दोस्रो मतदानले प्रतिस्पर्धा कुन दिशामा अघि बढिरहेको छ भन्ने महत्वपूर्ण सङ्केत दिनेछ ।
यद्यपि, पहिलो मतदानको तुलनामा मत वितरणमा परिवर्तन आउन सक्ने भए पनि कुनै एक उम्मेदवारले तत्काल निर्णायक अग्रता हासिल गर्ने सम्भावना कम रहेको उहाँको भनाइ छ । सुरक्षा परिषद्का स्थायी सदस्य बेलायत, चीन, फ्रान्स, रुस र अमेरिकाले आफ्नो प्राथमिकता तत्काल स्पष्ट नगर्न सक्ने बताइएको छ ।
सुरक्षा परिषद्मा महासचिवका उम्मेदवारले कम्तीमा नौ सदस्यको समर्थन प्राप्त गर्नुपर्छ । तर पाँच स्थायी सदस्यमध्ये कुनै एकको भिटो पाएमा भने उम्मेदवारी अघि बढ्न सक्दैन । सुरक्षा परिषद्को सिफारिसपछि मात्र उम्मेदवारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ । अन्तिम निर्णय भने महासभाले गर्नेछ ।









