२०८३ कार्तिक १०, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायलबाट नेपाल आएकी सुनीमायाको बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

इजरायलबाट नेपाल आएकी सुनीमायाको बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

धादिङ । इजरायलमा बस्दै आएकी धादिङको रुबी भ्याली गाउँपालिका-३ की सुनीमाया तामाङले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहतका लागि रु. १ लाख ५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
आमाको ८४औँ वर्षको पूजा तथा भदौ पूर्णिमाको अवसरमा भदौ १२ गते रुबी भ्यालीस्थित सिङ्ला मानेमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन परिवारसहित नेपाल आएकी सुनीमायाले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभयो ।
विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै, बाढी तथा प्राकृतिक विपत्तिमा घाइते भएका र प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
विपत्तिको यस कठिन घडीमा आफ्नो क्षमताअनुसार DNF/प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५ हजार आर्थिक सहयोग गरेको सुनीमायाले बताउनुभएको छ । विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा मानवीय दायित्व पूरा गरेको महसुस भएको उहाँको भनाइ छ ।
उनले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफूले सक्ने आर्थिक, भौतिक वा अन्य कुनै पनि माध्यमबाट बाढीपीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न आग्रह गरेकी छन् ।
“सानो सहयोगले पनि ठूलो फरक पार्न सक्छ,” सुनीमायाले भन्नभएको छ ।
आमाको पूजा तथा सिङ्ला मानेको धार्मिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी सुनीमायाले प्राकृतिक विपत्तिको समयमा आर्थिक सहयोगमार्फत सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँको सहयोगले विपत्तिमा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उनले विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिँदै “सहयोग गरौँ, एकजुट बनौँ र पीडितको साथमा उभिऔँ” भन्ने अपिलसमेत गर्नुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।