इजरायल – २५ सेप्टेम्बर, २०२६ शुक्रबारका दिन साँझ तेलअभिवमा नेपाली जनसम्पर्क समिती इजरायलको चौथो अधिवेशन हुने भएको छ । अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सभापती गगन कुमार थापाको भर्चुअल रुपमा प्रमुख आतिथ्यता र महामन्त्री तथा केन्द्रिय प्रतिनीधि गुरु घिमिरेको विशेष आतिथ्यता रहने जनसम्पर्क समिती इजरायलले जनाएको छ । अधिवेशनमा सहभागीताको लागी इजरायलमा क्रियाशील सम्पूर्ण सामाजिक, राजनैतिक संघ – संस्थाहरुका साथै नेपाली कांग्रेसको विचार र सिद्धान्तलाइ आत्मसाथ गर्ने सबैलाइ उपस्थितिको लागि आह्वान गरिएको छ ।
नेपाली जनसम्पर्क समिति इजरायललाइ नेपाली काँग्रेसको आगामी १५ औं राष्ट्रिय महाधिवेशन लागि सदस्यता वितरण, नवीकरण र अध्यावधिक गरी जनसम्पर्क समितिको अधिवेशन यथाशीघ्र सम्पन्न गराउने कार्यदेश सहित जनसम्पर्क समिति इजरायलका कार्यवाहाक सभापती अनिता थापा (अनु) लाइ संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
सन् २०१६ मा स्थापना भएको नेपाली जनसम्पर्क समिती इजरायलको चौथो अधिवेशनमा सहभागिताको लागि करिब ५८५ जना क्रियाशिल सदस्यहरु रहेको अधिवेशन संयोजक अनिता थापा (अनु) ले जानकारी दिनुभयो । साथै यस अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालको लागि सर्वसम्मत रुपमा नयाँ र युवा नेतृत्व सहितको नयाँ कार्यसमिति चयन हुने पनि जानकारी दिनुभयो । यस अघि सन् २०२१, जुलाइ १६ मा जनसम्पर्क समिती इजरायलको तेस्रो अधिवेशन भएको थियो ।
करिब ६ वर्षको अन्तराल पछि हुन लागेको चौथो अधिवेशनको तयारी अन्तिम चरण्मा पुगेको र अधिवेशन सम्पन्न गर्नको लागि खगेन्द्र प्रसाद खरेलको संयोजकत्वमा निर्वाचन समिति, खगेश्वर अधिकारीको संयोजकत्वमा विधान संसोधन समिति सहित अन्य समितिहरु गठन गरि काम गरिरहेको छ । नयाँ कार्यसमितिमा रहन इच्छुक क्रियाशिल सदस्यहरुले यहि बिहिबार सांझसम्म आफ्नो उम्मेद्धावारी दर्ता गर्न सकिने जनाएको छ ।
यहि असोज १६–१९ सम्म काठमाडौंमा हुने नेपाली काँग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनमा सहभागिताको लागि जनसम्पर्क समिती इजरायलबाट ७ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट हुनेछ । इजरायल सहित विश्वका ३६ वटा देशहरुमा नेपाली जनसम्पर्क समिती क्रियाशिल रहेका छन् ।









