कार्तिक १२, धादिङ । 
समुदाय–प्रहरी साँझेदारी कार्यक्रम आईतबार धादिङमा एक कार्यक्रमकोबीच उद्धघाटन गरिएको छ । ‘हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा सहितको कार्यक्रम आईतबार देशैभर उद्घाटन गरिएको हो ।

सामाजिक अपराध नियन्त्रण, रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सडक दुर्घटना नियन्त्रण, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्न र समाजमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जग्गनाथ नेपालले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामाजिक संस्था र विद्यालयबीचको सम्बन्धलाई सुमधुर र विश्वसनीय बनाउने दायित्व प्रहरीको भएको भन्दै कानूनको उल्लङ्घन गर्नु अपराध भएको बताउदै, अपराध गर्ने छुट कसैलाइ नरहेको बताउनुभयोे । साथै समुदाय–प्रहरी साँझेदारी कार्यक्रम धादिङ जिल्लाको १३ वटै स्थानिय तहसँग सम्झौता गरि प्रभावकारीताका साथ कार्यन्वयन गरिने पनि एसपी विकले बताउनुभयो ।

देशमा हत्या, बलात्कार जस्ता अपराधका घटनाहरु बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले यो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको हो । यस कार्यक्रमले शान्त, सभ्य र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक, विभिन्न स्थानिय निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैह्रसरकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजिवि, समाजसेवि, पत्रकार, महिला, उद्योगी, व्यावसायिहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments