पौष १८ धादिङ ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बालअधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका बालमैत्री, अपांगमैत्री बनाउन साझेदार निकायसंग संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने बताउनु भएको हो । बालबालिका, महिलामाथी हिंसाका घटना बढेकोले यसलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाले विषेश कार्यक्रम लागु गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले बालिकाहरु बढी असुरक्षित रहेको, सामाजिक संजालका कारण यौन हिंसा र बालविवाहका घटनामा वृद्धि भएकोले इनसेक संग साझेदारीमा बालअधिकार सम्बन्धी कार्यक्रम संचालन गर्ने बताउनुभयो । बालबालिकाले भविश्य हेरेर निर्णय गर्न नसक्ने भएकोले स्थानीय सरकारले संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिने उहाँको भनाई छ ।
इन्सेक ३ न. प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले सामुदायिक विद्यालय भन्दा पनि निजि विद्यालयमा हिंसाका घटनाहरु बढीरहेकोले हिंसाका घटनामा राज्यले रोक्न प्रयास गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा मानवअिधकार निगरानी समूहका अध्यक्ष रामहरी थापाको अध्यक्षतमा सम्पन्न समारोहमा बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि जोड दिइएको थियो । दुई दिन संचालन हुने तालिममा ४ विद्यालयका २० बालबालिकाहरुको सहभागिता रहेको छ ।

Facebook Comments