पौष २२, काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक बर्षको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमि आएको बताउनुभयो । उहाँले सो अवधिमा मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको तथा व्यापार घाटा १ दशमलव शून्य पाँच प्रतिशतले घटेको पनि जानकारी दिनुभयो ।

साथै प्रधानमन्त्री ओलिले आगामी फागुन २१ गतेभित्र सङ्घीयताको प्रतिकुल भएका कानून संशोधन गर्नुपर्ने मध्ये १६५ वटा भन्दा बढि कानूनमा संशोधन तयार भएको जानकारी दिँदै उहाँले मौलिक हकका कानून बनी कार्यान्वयनमा आएको बताउनुभयो । पशु बीमा कार्यक्रम सम्बन्धित विभागलाई प्रदान गरिएको, प्रधानमन्त्री रोजगारी कार्यक्रम शुरु गरिएको, राष्ट्रपति चुरे कार्यक्रम जारी रहेको र समस्या देखिएका केही परियोजनामा विशेष निगरानी राखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलिको सम्बोधन प्रति प्रश्न उत्तर गर्न पाउनु पर्ने माग सहित नेपाली कांग्रेसका सांसदहरुले संसद अवरोध गरेपछि अनिश्चित समयको लागि संसद बैठक स्थगित गरिएको छ ।

Facebook Comments