पौष ३० धादिङ,

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ३ पहरेचौतारा सिर्जना टोलमा अवस्थित चौतारामा विश्राम स्थल बनाइएको छ । गंगाजमुना गाउँपालिका २ साविकको रि गाविस का वाइ बहादुर तामाङले बनाउनुभएको विश्राम स्थलको एक कार्यक्रमविच पहरेचौतारा सिर्जना टोल सुधार समितिलाई हस्तान्तरण गरिएको छ ।
पहरेचौताराको बाटो हुदै हिड्ने यात्रु तथा वरपरका मानिसहरु चौतारामा सुस्ताउने गर्दछन् । गर्मीमा स्वच्छ हावा, जाडोमा पारिलो घाम ताप्नेहरुको जमघट हुने ठाउँ भएकाले जीर्ण बन्दै गएको चौताराको संरक्षण तथा यात्रुहरुलाई सहज हुने भएकाले विश्राम स्थल बनाएको वाइ बहादुर तामाङले बताउनुभयो ।
बालबालिका देखि वृद्धवृद्धाहरु सबै चौतारीमा खेल्न, सुस्ताउन आउने गर्दछन् । हामीले यस्ता संस्कृतिको जगेर्णा गर्न सके भावी पुस्ताहरुका लागि इतिहास हुने उहाँको भनाई छ । मेरो ३ लाख भन्दा बढी लगानी भयो । टोलसुधार समितिको संरक्षणमा विश्राम स्थल बनेको छ । मैले त बनाएँ मात्रै, अव टोल छरछिमेक सबैको साथ र सहयोगले नै व्यवस्थित र संरक्षण हुने उहाँको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले तामाङको सामाजिक कार्य प्रति सम्मान व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । चौतारा तथा विश्राम स्थलमा आएर बस्नेहरुका लागि धर्मग्रन्थ तथा पढ्न कितावहरु राख्न सके प्रभावकारी हुने उहाँको भनाई छ ।
कुनै पनि सम्पदा बन्नुसँगै संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै विश्राम स्थललाई व्यवस्थित गर्न चुक्न नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा उपस्थित ३ नं. वडाका वडा सदस्य चिना श्रेष्ठ, टोल सुधार महासमिति धादिङका कोषाध्यक्ष नारायणलाल श्रेष्ठ, बुद्धिजिवि तथा स्थानियहरुले तामाङको सामाजिक कार्यप्रति सम्मान व्यक्त गरेका छन् ।
कार्यक्रमकै विच विश्राम स्थल बनाउने वाइ बहादुर तामाङलाई पहरेचौतारा सिर्जना टोल सुधार समितिले सम्मान गरेको छ । तामाङले टोल सुधार समितिको रेखदेख तथा संरक्षणमा विश्राम स्थल बनाउनुभयो । समितिका अध्यक्ष यमबहादुर अधिकारी भन्नुहुन्छ– रि बाट धादिङबेशीमा आएर यतै घर बनाएर बस्नुभएका वाइ बहादुर तामाङको यो सामाजिक कार्यले समुदायमा ठूलो योगदान पुगेको छ । उहाँको यस कार्यप्रति सम्मान गर्दै बनेका भौतिक संरचना र संस्कृतिको जगेर्णा गर्ने उहाँले बताउनुभयो ।

 

Facebook Comments