
वैशाख २५ ।
सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।
देशका ७७ जिल्ला र बाहिरका ३३ मुलुकमा चलाइने अभियानको पार्टी नीति, कार्यक्रम र संशोधित विधानको बहस अभियानको मुख्य एजेण्डा बनाइएको काँग्रेसले जनाएको छ । संसदमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा बोलेको भाषा र सभामुखको भूमिका पनि मुख्य एजेण्डामा परेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले बताउनुभयो । हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान नाम दिइएको अभियान तीन चरणमा वर्षभरि चल्ने छ ।
वर्षभरी नै सरकारले गरेका कमजोरीलाई अभियान मार्फत जनताका बिचमा लैजाने प्रमुख सचेतक खाडले बताउनुभयो । अभियानका सहभागि सांसदले भने अवरोधका बिच नीति तथा कार्यक्रम पारित हुनलाई एजेण्डा बनाउने कांग्रेस सांसद डा.डिला संग्रौलाले बताउनुभयो । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमको रूपमा रहेको अभियानमा महिलाकै विरोधपछि एकजना महिला वक्ता अनिवार्य गरिएको छ ।
धादिङमा पनि अभियान शुभारम्भ
देशभर संचालन भइरहेको अभियानको धादिङमा आज एक कार्यक्रम गरि औपचारिक रुपमै सुभारम्भ गरिएको छ ।
अभियानको शुभारम्भ गर्नुहुदै अभियानलाई सफल बनाउन नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले सम्पुर्ण पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । यस्तै संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान गरिएको सभापति धमलाले बताउनुभयो ।