वैशाख २६, धादिङ ।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया दुई देशको भ्रमणका क्रममा आज भियतनाम जानुभएको छ । समाजवादी गणतन्त्र राष्ट्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली आज भियतनाम जानुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका समकक्षी फुकसँग प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्र्तराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौता समेत हुने अनुमान गरिएको छ । प्रधानमन्त्री ओली जेठ ३० गते भियनतामको भ्रमण सकाएर ३० गते नै कम्बोडिया जाने कार्यक्रम रहेको छ । कम्बोडियामा पनि समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणमा भियतनाम र कम्बोडियासँग द्धिपक्षीय सम्भावनाको खोजी गर्न र आपसि सम्बन्धका विषयमा केन्द्रित हुने र भियतनाम आसियानको सदस्य राष्ट्र भएकोले द्धिपक्षीय व्यापारको साथै द्विपक्षीय हित प्रवद्र्धन लगायतका बिषयमा पनि कुराकानी हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएको छ ।
भ्रमण टोलिमा प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको टोलि भ्रमण दलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments