
अषाढ १९, धादिङ ।
आम सञ्चार माध्यममा आदिवासी जनजातीका सवाल विषयक ३ दिने पत्रकारिता तालिम आजदेखि धादिङवेशींमा सुरु भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना तथा निलकण्ठ नगरपालिका धादिङको सहयोगमा तालिम सुरु भएको हो । तालिमको पहिलो दिन आज आदिवासी जनजातीका मुद्धाहरु, हक अधिकार, डिजिटल मिडियाको प्रयोग यसको फाईदा लगायतका विषयमा छलफल गरिएको थियो ।

छलफल भएका विषयवस्तु माथि फोनिज ३ नम्बर प्रदेश ईन्चार्ज समीर बलामी र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), संघिय समितिका कोषाध्यक्ष अमरधोज लामाले सहजीकरण गरिरहनुभएको छ । आदिवासी जनजातीहरुको लोप हुन लागेको भाषा, संस्कृति रितिरिवाजहरु सञ्चार माध्यममा उठान गर्नुपर्ने तालिम उद्घाटन समारोहका अतिथिहरुले भनाई राखेका थिए । आदिवासी जनजातीहरुका मुद्धाहरु, सवालहरु अझै लुकेर रहेकाले त्यस्ता मुद्धाहरुलाई संञ्चार माध्यमबाट बाहिर ल्याई जनजाती समुदायका व्यक्तीहरुलाई शुसुचित गर्नुपर्ने नेपाल आदिवासी जनजाती महासंघ धादिङका कार्यवाहक अध्यक्ष चन्द्र बरामले बताउनुभयो ।

आदिवासी जनजातीका सवालहरु संञ्चार माध्यमहरुले कन्जुस्याई गर्ने गरेको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला शाखा धादिङका उपाध्यक्ष नारायण कुमार श्रष्ठले बताउनुभयो । अहिले संञ्चार माध्यममा आदिवासी जनजातीहरुको पनि उल्लेख्य सहभागीता रहेकाले आगामी दिनहरुमा आदिवासी जनजातीहरुको हक अधिकारका विषयमा कलम चलाउनुपर्ने श्रेष्ठले बताउनुभयो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङका अध्यक्ष शंकर कुमार श्रेष्ठको अध्यक्षतामा संञ्चालन भएको तालिममा ३० जना आदिवासी जनजाती पत्रकारहरुको सहभागीता रहेको छ ।