
भदौं १, धादिङ ।
सहयात्री समाज नेपालले संञ्चालन गरेको विपत तथा समतामुलक न्यायमा पहुँच सुदृढिकरण परियोजना (Safe Justice) को सामुदायिक अंक पत्र नतिजाको विषयमा जानकारी गराएको छ । न्यायिक समितिका सदस्य, प्रहरी, संञ्चारकर्मीहलाई आज एक कार्यक्रमको आयोजना गरि परियोजनाको विषयमा जानकारी गराएको हो ।
यूकेएड र केयर नेपालको संयुक्त साझेदारीमा सहयात्री समाज नेपालले परियोजना संञ्चालन गरेको हो । परियोजना जिल्लाको वेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकामा सञ्चालन भईरहेको छ । समुदायमा पछाडि पारिएका किशोरी र महिलाको न्यायमा पहुँच कसरी ल्याउने, हिंसामा परेका महिला तथा किशोरीलाई न्यायिक समिति सम्म कसरी ल्याउने भन्ने उद्देश्यले परियोजना संञ्चालन गरिएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी गराउनुभएको थियो ।
समुदायमा देखिएका समस्याहरु समुदाय आँफैले समाधान गर्न सकोस् र किशोरी र महिलाहरुको निमित्त समुदायमा रहेका हानिकारिक मुल्य मान्यतालाई चिन्न सकुन र त्यस्ता हानिकारिक मुल्य मान्यताका विरुद्धमा संञ्चालन गरेको परियोजनाले अपेक्षा अनुसारको काम भएको बताउनुभयो । समाजमा लैंगिक हिंसाका घटनाहरु बेढेको भन्दा पनि चेतनाका स्तरमा वृद्धि भएकै कारण यस्ता घटनाहरु पछिल्लो समय धेरै बाहिर आएको निर्देशक सापकोटाले बताउनुभयो । परियोजना संञ्चालन गरेका ठाउँहरुको रिपोर्टलाई आधार मान्ने हो भने प्रभावकारी ढंगले परियोजना अघि बढेको निर्देशक सापकोटाको भनाई थियो ।

साथै कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले सहयात्री समाजले संञ्चालन गरेका यस्ता परियोजनाले समाजमा लुकेर बसेका महिला हिंसा र अपराधका घटनाहरु विगतमा भन्दा तुलनात्मक रुपमा दर्ताको संख्यामा वृद्धि भएको बताउनुभयो । प्रहरीमाथीको विश्वास बढ्दै गएको र विस्तारै समाजमा आएको चेतनाका कारण पहिलेको तुलनामा पिडितहरु खुलेर आउने गरेको उहाँले बताउनुभयो । जुवा तास, जाड रक्सी, फेसबुक लगायतका सामाजिक संञ्जालका कारणले पनि लैङ्गिक हिंसा वृद्धि हुँदै गएको प्रहरी उपरिक्षक वैदवारको भनाई थियो । यस्ता परियोजनाहरु अझै व्यवस्थीत बनाँउदै समय थप गर्दै लैजानुपर्ने भन्दै प्रहरी उपरिक्षक वैदवारले धादिङलाई हिंसामुक्त जिल्ला, अपराध मुक्त जिल्ला बनाउन सबै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै न्यायिक समितिका सदस्य लगायत कार्यक्रमका सहभागीहरुले सहयात्री समाजले संञ्चालन गरेका यस्ता परियोजनाका कारण लंैङ्गििक हिंसाका घटनाहरु बाहिर आउन थालेको बताएका थिए ।