
कात्तिक २५ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बिहान साढे आठ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेरमा सुरु हुँदैछ ।
पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेताहरुले बताएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै कात्तिक २५ सम्ममा पार्टी एकता टुंगोमा पुग्ने बताइसक्नुभएको छ । आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद् र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुनेछ ।
बैठकमा सरकारका मन्त्रीहरू हेरफेरका विषयमा पनि छलफल हुने भनिएपनि नेताहरुले औपचारिक रुपमा यो कुरा भनेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यहरूलाई यसअघि नै राजीनामा गर्न लगाएको र मन्त्रीहरूको कामप्रति पनि असन्तुष्ट रहेकाले मन्त्रीमण्डल फेरफेरको सम्भावना रहेको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्षको दुई घन्टा लामो छलफल भएको थियो ।