
मंसिर २७, धादिङ ।
नीलकण्ठ नगरपालिकामा समयमा शिक्षक पदस्थापना नभएको भन्दै एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठन नीलकण्ठ नगरपालिका धादिङले नीलकण्ठ नगरपालिकालाई गम्भीर ध्यानकर्षण गराएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई धादिङको प्राथमिकता क्रमका आधारमा पदस्थापना भई अन्य गाउँपालिका तथा नगरपालिकाका विद्यालयमा गई हाँजिरी समेत भईसकेको तर अहिले सम्म नीलकण्ठ नगरपालिकामा भने प्राथमिक शिक्षा स्थायी तृतीय श्रेणीको शिक्षक पदस्थापना प्रक्रिया अघि नबढेको भन्दै नगरपालिका ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको हो ।
नियुक्ती भईसकेका शिक्षकलाई पदस्थापनामा ढिलाई गर्दा शिक्षकहरुको आन्तरिक बढुवा गर्दा शिक्षकहरुको आन्तरीक बढुवा र वृद्धि विकासमा गम्भीर असर पर्ने भएकाले छिटो भन्दा छिटो शिक्षकहरुको योग्यता क्रमको आधरमा पदस्थापना गर्न निलकण्ठ नगरपालिका समक्ष जोडदार माग गर्दछौं एकिकृत अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिकाका अध्यक्षा जनार्दन नेपाल र नेपाल राष्ट्रिय शिक्षक संगठन नीलकण्ठ नगरपालिका धादिङका अध्यक्ष शालिकराम अर्यालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।
यस्तै नगरपालिकाले प्रकाशित गरेको सुचनामा आवेदकले भर्नुपर्ने फारमको ७ नम्बर बुँदा पनि गल्ती भएकाले त्यो बुँदा अविलम्ब हटाउन माग समेत गरेको छ । शिक्षकहरुको पदस्थापना प्रक्रियामा शिक्षकका पेशागत संगठनहरुलाई बोलाई स्पष्ट कार्यविधि तय गरी व्यवस्थापन प्रक्रिया चाडो नटुङ्याए संर्घषमा उत्रन बाध्य हुने ज्ञापन पत्रमा भनिएको छ ।