११ माघ, धादिङ ।
धादिङ तमू (गुरुङ) समाज काठमाडौं उपत्यकाले गत माघ ७ गते मंगलबार धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिकै आईचर (ट्रक) दुर्घटनाका घाईतेहरुको उपचारको लागि रु. १ लाख ७६ हजार ४ सय ९० रुपैंया आर्थिक सहयोग गरेको छ । आज ट्रमा सेन्टरमा एक कार्यक्रमको बीच सहयोग रकम हस्तान्तरण गरिएको हो । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ र घाइतेका आफन्तहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम काठमाडौमा विभिन्न व्यापार, व्यवसाय र काम गरेर बसेका गुरुङ समुदाय र अन्य समुदायका मानिसहरुबाट संकलन गरिएको हो । धादिङ काठमाडौं समाजले घाईतेहरुको छिटो र सहज उपचारको लागि र कोहि पनि आर्थिक समस्याका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको समाजका सह कोषाध्यक्ष वेद बहादुर गुरुङले जानकारी दिनुभयो । यस तमू समाजले विभिन्न समयमा यस्तै आपत विपतमा परेकाहरुका लागि आर्थि तथा अन्य सहयोगहरु गदै आईरहेको छ ।
दुर्घटनामा परि घाईते भएका ३७ जना मध्ये ११ जनालाई सेनाको हेलिकप्टर मार्फत र अन्य १२ जनाई एम्बुलेन्स गरी जम्मा २३ जनालाई उपचारको लागि गत माघ ७ गते नै काठमाडौं लगिएको थियो । काठमाडौं लगेका मध्ये हालसम्म १० जना उपचार पछि घर फर्किएको र १३ जनाको भने काठमाडौंमा उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा ११ जना, मनमोहन मेमोरियल अस्पतालमा १ जना र ग्राण्डी अस्पतालमा १ जनाको उपचार भइरहेको वडा अध्यक्ष ध्वज बहादुर गुरुङले जानकारी दिनुभयो । दुर्घटनाका अधिकांश घाइतेहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ का छन् ।
ट्रक दुर्घटना भएको पाँच दिन सम्म पनि नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी निवासी ट्रक साहू गकुल प्रसाद ढुङगाना सम्पर्कमा नआएको र कतिपय घाईतेहरुको उपचारमा समस्या आएको घाइतेका आफन्तहरुले जनाएको छ । गत बिहिबार धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रहरी प्रमुख रविन्द्र रेग्मीले ट्रकका साहुलाइ छिटो भन्दा छिटो सम्पर्कमा ल्याई मृतकको आफन्तलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाईतेहरुको उपचारमा सहयोग गर्ने बताएको थियो । मृतकका आफन्तले ५० हजारका दरले क्रिया खर्च बापतको रकम प्राप्त गरे भने घाइतेहरुले हालसम्म गाडी धनीको तर्फबाट कुनै पनि प्रकारको सहयोग पाएको छैन् । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थीत ढोला मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक गत माघ ७ गते दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भूलभूले अर्थात एकै गाउँका ७ जनाको मृत्यृ भएको थियो । चालकको लापारबाहीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

Facebook Comments