
चैत ६, धादिङ ।
स्थानीय तहसंगै धादिङका विभिन्न संघ/संस्थाहरुले कार्यालय प्रवेश गर्नुपूर्व साबुन पानीले राम्रोसंग हात धुन अपील गरेका छन् ।
आ–आफ्ना कार्यालयको प्रवेशद्वारमा हात धुने व्यवस्था मिलाउँदै साबुन पानीले राम्रोसंग हात धुन अपील गरेका हुन् । यस क्रममा नीलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाले कार्यालय प्रवेशद्वारमा पानी र सावुनको व्यवस्था गरी सेवाग्राही र सेवाप्रदायक सबैलाई साबुन पानीले राम्रोसंग हात धोएर मात्र कार्यालयको काम अघि बढाउन सूचना नै टाँसेर अपील गरेका छन् ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा, शान्ति नेपाल, रेडियो धादिङ लगायतका संस्थाहरुले पनि सेवाग्राही र सेवाप्रदायक सबैलाई साबुन पानीले राम्रोसंग हात धोएर मात्र कार्यालयको काम अघि बढाउन सूचना नै टाँसेर अपील गरेकाछन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरसबाट बँच्न न्यूनतम साबुनपानीले राम्रोसंग हात धोए केहि सुरक्षित भइन्छ भन्ने हेतुले हात धुने व्यवस्था मिलाइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद रिजालले बताउनुभयो । त्यसैगरी बजारमा सेनिटराइज अभाव भएकाबेला साबुन पानीले राम्रोसंग हात धुदैमा पनि भाइरस संक्रमणबाट बँच्न सकिने भएकोले यस्तो व्यवस्था गरिएको रेडक्रस धादिङका सभापती नारायण प्रसाद तिमिल्सिनाले बताउनुभयो । अहिलेको परिस्थितिमा संयमित भइ संभावित रोगबाट बच्न नेपाल सरकारले अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका साथ गरिरहेको बताएको छ । यद्यपी नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित भने नभेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
यता विश्व स्वास्थ्य संगठनले पनि कुनैपनि जनावरको नजिक नजान र मासु राम्रोसँग मात्रै पकाएर खान आग्रह गरेको छ । नेपाल सरकारले यसको बारेमा सतर्कता अपनाउनको लागि आग्रह गर्दै अनावश्यक रुपमा भीडभाडमा नजान र भीडभाड नगर्न समेत आग्रह गरेको छ ।