Dead body in a mortuary
चैत्र ७ गते ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ एैसेलु गैरामा दुइ जना मृत अवस्थामा भेटिएको छ । स्थानिय ७२ वर्षिय लाल बहादुर नेपाली र ३५ वर्षिया सुन्तली नेपालीको सुतेकै स्थानमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
लाल बहादुरको विहिबार राति १२ बजे र सुन्तलीको विहान ४ बजे मृत्यु भएको स्थानियहरुले बताएका छन् । स्थानियका अनुसार मृतक द्धय गाउँमा नातामा ससुरा बुहारी पर्दछन् । प्रहरी नायव उपरिक्षक खड्काका अनुसार केहि साता अघि गाउँमा विवाह भएको र सोहि विवाहमा खपत भएर बाँकी रहेको रक्सी दुवै जनाले बुधबार साँझ बोतलमा हालेर लगेका थिए ।
रक्सीका कारण ज्यान गएको हुन सक्ने अनुमान रहेको उहाँको भनाइ छ । घटनाको जाँच मुचुल्का गरी पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल धादिङमा ल्याइएको छ । रक्सी प्रयोग गरिरहने र त्यहि रक्सी अरुले पनि खाएको हुनाले पोष्टमार्टम रिपोर्ट नआइ भन्न सकिन्न ।
तर घटनास्थलमा शंकास्पद कुनै बस्तुहरु नभेटिनु र रक्सी सवेन गर्नुले मृत्युको कारण रक्सी नै हुनसक्ने आशंका रहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो । घटनाको थप अनुसन्धान भैरहेको पनि उहाँले बताउनुभयो ।