
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबार तीन जना नयाँ संक्रमित पुष्टि भएको जानकारी गराउनुभएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये शुक्रबार तीनवटाको पोजेटिभ रिपोर्ट आएको देवकोटाले बताउनुभयो । शुक्रबार पोजेटिभ रिपोर्ट आएकामा एकजना ३४ वर्षका महिला, एकजना २१ वर्षका पुरुष र अर्का एकजना ४१ वर्षका पुरुष रहेका छन् ।
दुवैजना पुरुष भारतबाट आएका र कैलाली र कञ्जनपुरको क्वारेन्टाइनमा बसेकामा नमुना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
उनीहरु दुबैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । शुक्रबार संक्रमित पुष्टि भएका महिला भने संक्रमितको परिवारको सदस्य भएको मन्त्रालयले जानकारी दिएको छ । उनको पनि प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
यस अघिसम्म बाहिरबाट आएका मानिसमा मात्रै संक्रमण देखिएकोमा आज पहिलोपटक नेपालमै रहेकामा पनि संक्रमण देखिएको छ । अर्थात् नेपालमा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि भाइरस सरेको छ ।
संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको नेपालमा यो पहिलो घटना हो । यसले झन जोखिम बढाएको भन्दै मन्त्रालयले बाहिरबाट आएका मानिस अनिवार्य रुपमा विशेष सावधानीका साथ क्वारेन्टाइनमै बस्न अनुरोध गरेको छ ।