चैत्र १९, धादिङ ।

शान्ती नेपालले जिल्लाको स्थानिय तहमा निर्माण गरिएको क्वारेन्टाईन , अस्पताल लगायतका स्थानहरुमा गरि ६० सेट पर्सनल प्रोटेक्ट ईक्विपमेन्ट पिपिई सहयोग गरेको छ ।

शान्ती नेपालले मंगलबार जिल्ला अस्पताल धादिङको लागि ६ सेट पर्सनल प्रोटेक्ट ईक्विपमेन्ट (पिपिई) सहित स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न तथा फैलिन नदिन पिपिई सहितको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको शान्ती नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले बताउनुभयो ।

यस्तै सिद्धलेक गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाईनलाई पनि मंगलबार थप ६ सेट पिपिई सहितको स्वास्थ सुरक्षा सामाग्री वितण गरेको शाक्यले बताउनुभयो । आईतबार पनि सिद्धलेक गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाईनलाई ६ सेट पिपिई सहित मास्क, ग्लोप्सहरु सहयोग उपलब्ध गराएको थियो । आईतबार र सोमबार विभिन्न स्थानमा ३० सेट पिपिई सहितको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो भने हिजो थप ३० सेट पिपिई सहितको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।

क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीलाई कोरोना भाईरसको जोखीमबाट बचाउने उद्देश्यले पिपिई सहितको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको परियोजना संयोजक शाक्यले बताउनुभयो ।

Facebook Comments