चैत्र २५, धादिङ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरिएको छ । नेपाल सरकारले घोषणा गरेको लक डाउनका कारण गरिब तथा विपन्न परिवार र दैनिक ज्यालामजदुरी काम गरेर गुजारा गर्दै आईरहेका परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
लकडाउनका कारण ज्यालामजदुरी गरेर खानेहरु भोकै नपरुन् भन्ने उद्देश्यले धादिङका १३ ओटै स्थानिय तहहरुले आवश्यक तयारी थालेको छ । यस्तै निलकण्ठ नगरपालिका धादिङले पनि राहत संकलनको लागि सहयोगीदाताहरुलाई आह्वान गरेको छ । राहत सहयोग गर्ने ईच्छुक व्यक्ती तथा संघ संस्थालाई एक सुचना जारी गर्दै राहत सहयोगको लागि आह्वान गरेको हो ।
नगरपालिकाले नगद सहयोग गर्न चाहने सहयोगी दाताले निलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषको राष्ट्रिय वाणिज्य वैंड्ढको खाता नम्बर १०३०३०५०४९४०२ मा जम्मा गर्न अनुरोध गरेको छ । यस्तै खाद्ययन्न तथा जिन्सी सामाग्री सहयोग गर्न ईच्छुक व्यक्ती तथा संघ संस्थाले नगरपालिकाको विपद खाद्य स्टोरमा जम्मा गर्न प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस्तै राहत वितरणमा दोहोरोपन आउन नदिन व्यक्ती संघ–संस्था कसैले पनि आफुखुशी राहत वितरण नगर्न अनुरोध गरेको छ । २३ गते बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गर्दै यस्तो अनुरोध गरेको हो ।