
चैत्र २६, धादिङ ।
जातीगत हिसावले चेपाङ जातीको बाहुल्य रहेकोे तेस्रो जिल्ला धादिङ हो । २०६८ को राष्ट्रिय जनगणना अनुसार धादिङमा चेपाङहरु १४ हजार ४ सय ९२ रहेका छन् । अशिक्षा, गरिवि, अन्धविश्वासका कारण अति सिमान्तकृत चेपाङ समुदाय, अन्य समुदाय भन्दा धेरै पछि रहेको तथ्याङ्कले देखाउछ । दक्षिणि धादिङको बेनिघाटरोराङ, गजुरी लगायतका गाउँपालिकाहरुमा चेपाङ जातीको बसोबास रहेको छ । जंगलको कन्दमुल, गिट्ठा भ्याकुर खाएर जिवन निर्वाह गर्ने चेपाङहरुको जिवनशैली पछिल्लो समयमा भने केहि परिवर्तन आएको छ ।
जिवनशैलीमा केहि परिवर्तन आएको भएपनि स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकताबाट भने चेपाङ समुदाय अझै पर छन् । अन्धविश्वास, अशिक्षा र गरिविकै कारण चेपाङ समुदायमा गर्भवती महिला र शिशु मृत्युदर धेरै छ । सानो उमेरमा गरिने विवाह, भगवानले दिएको भन्दै धेरै वच्चा जन्माउने प्रचलन नै मातृशिशु मृत्युदर बढ्नुको मुख्य कारण हुन् ।

अन्धविश्वास र स्वास्थ्य शिक्षा अभावका कारण गर्भवती चेपाङ महिलाहरु घरमै सुत्करी हुने गर्दछन् । तर वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की २० वर्षिया सिर्जना चेपाङ भने चैत्र २२ अर्थात शनिबार धादिङ अस्पतालमा आएर सुत्केरी हुनुभएको छ । सुत्केरी गराउन सिर्जनाको परिवारले सिर्जनालाई धादिङ अस्पतालमा भर्ना गरेका थिए । धादिङ अस्पतालमा चेपाङ महिलाले वच्चा जन्माएको यो नै पहिलो घटना हो । यो भन्दा अघि धादिङ अस्पतालमा चेपाङ महिला सुत्केरी भएको तथ्याङ्क छैन, धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले भन्नुभयो, उहाँ नै पहिलो चेपाङ महिला हुनुहुन्छ । नर्मल डेलिभरी नभएपछि शल्यक्रिया गरि बच्चा निकालिएको विकले बताउनुभयो ।

सिर्जनाले चैत्र २२ गते राती १० बजेर १ मिनेट जाँदा २६ सय ग्रामको शिशुलाई जन्म दिएको धादिङ अस्पतालका कृष्णलाल उप्रेतीले बताउनुभयो । अहिले आमा र वच्चाको स्वास्थ्य अवस्था राम्रो छ । गत माघमा स्थानीय राजकुमार चेपाङसँग विवाह गरेकी सिर्जनाले पहिलो सन्तानको रुपमा धादिङ अस्पतालमा वच्चा जन्माउनु भएको हो । अस्पतालमा सुत्केरी भए वापत नेपाल सरकारले उपलब्ध गराएको २ हजार ८ सय रुपैयाँ सुत्केरी भत्ता पनि प्रदान गरि आज अस्पतालले डिस्चार्ज गरेको छ ।

पहिलो पटक अतिसिमान्तकृत चेपाङ महिलाले धादिङ अस्पतालमा आएर सुत्केरी गराएको कारण धादिङ अस्पतालले शल्यक्रिया गर्दा लाग्ने खर्च, औषधी लगायतका खर्चहरु निशुल्क गरेको धादिङ अस्पतालका सुचना अधिकृत विकले बताउनुभयो । यस्तै अस्पतालले सुत्केरी सिर्जना चेपाङलाई घर सम्म पु¥याउन एम्बुलेन्सको समेत व्यवस्था गरेको विकले जानकारी दिनुभयो ।

धादिङ अस्पतालमा एकै दिन ३ जनाको अप्रेशन
धादिङ अस्पतालले एकैदिन तीन जना गर्भवती महिलाको सफल अप्रेशन समेत गरेको छ । लकडाउनका कारण प्रसव पिडामा रहेका गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर जिल्लामै पहिलो पटक एकै दिन तीन जनाको अप्रेशन गरीएको सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । मंगलबार धादिङका २२ बर्षीया मेलिना तामाङ, २८ बर्षीया बबिता सिखंडा र १८ बर्षीया सुसना गुरुङ्कको २÷२ घन्टाको अन्तरालमा धादिङ अस्पतालले लगातार सफल अप्रेशन गरेको विकले बताउनुभयो ।
धादिङ अस्पतालमा दैनिक ३ जना महिला सुत्केरी हुन्छन्
धादिङ अस्पतालमा अहिले दैनिक ३ जना महिला सुत्केरी हुने गरेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले बताउनुभयो । अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र अस्पतालमा सुत्केरी हुँदा हुने फाईदाको विषयमा सचेतना फैलिएकै कारणले अस्पतालमा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको विक दावी गर्नु हुन्छ ।