कोरोना भाईरस आर्थत् कोभिड–१९ बाट जोगिन सरसफाई र सामाजिक दुरी सबैभन्दा महत्वपूर्ण छ । त्यसैका लागि सरकारले लकडाउन अर्थात् बन्दाबन्दी गरिरहेको छ । तर कतिपय ठाउँमा बन्दाबन्दी प्रभावकारी देखिएको छैन, जसले रोग संक्रमणको डर बढाएको छ । तर धादिङका युवाले बन्दाबन्दीलाई प्रभावकारी बनाउन फरक खालको प्रयास गरेका छन् ।

धादिङको ग्रामिण भेगका प्राय कच्ची तथा पक्की सडकमा तगारो हालिएको छ । गाउँ प्रवेश गर्ने बाटो, सडक, मानिस भिडभाड हुने सार्वजनिक स्थानमा युवाहरुले तगारो हालेका हुन् । लकडाउनको समयमा पनि अटेर गरी गाउँमा बाहिरबाट अपरिचित मानिसहरु आउने गरेको भन्दै युवाहरुले गाउँ प्रवेश गर्ने मुल बाटोमै तगारो हाल्न थालेको निलकण्ठ ९ का राजन बराईलीले बताउनुभयो ।

अहिले धादिङको अधिकांश ग्रामिण सडकमा तारबार लगाएको देख्न सकिन्छ । साथै युवाहरुले कोरोनाबाट बच्ने उपायहरुका बारेमा पर्चा पम्प प्लेट टाँस्ने, माईकिङ पनि गर्ने गरेको निलकण्ठ २ साँखु सोह्रघरका भोजबहादुर मगर  बताउनुहुन्छ ।

सडक मात्रै होईन एक गाउँबाट अर्काे गाउँ जोड्ने झोलुङ्गे पुलहरु पनि बन्द गरिएको छ । यसले मानिसहरुको आउजाउ त घटाएको छ, तर एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी साधन संचालनमा अवरोध पुगेको छ । जुन  गैरकानुनी काम भएको बताउनुहुन्छ, जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्ष रविन्द्र रेग्मी ।

गाउँमा मानिसहरुको चहलपहलले बन्दाबन्दी कार्यन्वयनमा समस्या छ । तर बन्दाबन्दीलाई प्रभावकारी बनाउन धादिङका युवाले गरेको प्रयासलाई गाउँलेहरुले रुचाएपनि अत्यावश्यक सवारी साधन चल्न मिल्ने गरि सडक बन्द गर्न माग गरिएको छ ।

Facebook Comments