बैशाख २४, धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको लागी ब्याज तथा हर्जना छुट दिने निर्णय गरेको छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले आह्वान गरेको देशव्यापी लकडाउनका कारण सबै क्षेत्र र समुदाय समस्यामा छ । यहि समस्याका बीच मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लि.ले भने संस्थामा आवद्ध शेयर सदस्यहरुले आफ्नो व्यापार, व्यवसाय संञ्चालन गर्न नसकेको र शेयर सदस्यहरुको समस्यालाई ध्यानमा राखि राहात स्वरुप ब्याजमा छुट दिएको हो । २०७७ साल बैशाख महिना भित्रमा भुक्तानी दिनुपर्ने सावाँ र ब्याज भुक्तानी गरेमा त्यस्ता शेयर सदस्यहरुले २०७६ सालको चैत्र महिना र २०७७ सालको बैशाख महिनाको गरी जम्मा दुई महिनाको ब्याज र हर्जनामा १० प्रतिशतका दरले छुट दिने निर्णय गरिएको छ । यो नियम पशुपालन तथा सरल कर्जा लिने शेयर सदस्यहरु बाहेक अन्य सदस्यहरुका लागी मात्र लागु हुने छ । त्यसकारण तोकिएको समयमा सावाँ तथा ब्याज भुक्तानी गरी संस्थाले प्रदान गरिने सुविधा लिनुहुन सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरुलाई सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

२०६६ सालमा स्थापना भएको यस संस्थामा १ हजार २४ जना शेयर सदस्यहरु रहेका छन् भने ८० लाख ६० हजार ८ सय बराबरको शेयर पुँजी तथा ७ करोड भन्दा बढिको आर्थिक कारोबार रहेको छ । यस संस्थाको कार्यक्षेत्र साविकको मुरलीभञ्ज्याङ गाविस तथा हालको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ रहेको छ । साना किसान कृषि सहकारी संस्था लि.को जिल्ला भरी कुल ५७ वटा सदस्य संस्थाहरु रहेका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका अन्य साना किसान कृषि सहकारी संस्थाहरुले पनि यो महामारीको समयमा सदस्यहरुको हित तथा राहातको लागी भन्दै विभिन्न किसिमका राहात समबन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

Facebook Comments