
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको नीगालपानी-काफलपानी खानेपानी आयोजना निर्माण सम्पन्न भएको १५ वर्ष भयो । तर वर्षाै सम्म संञ्चालन भएको यो खानेपानी आयोजना अहिले समस्यामा छ । ‘मर्मत संभारमा आर्थीक अभाव हुन थालेपछि खानेपानी आयोजना संञ्चालनमा समस्या हुन थालेको छ, खानेपानी उपभोक्ता समितिका सचिव निरबहादुर गुरुङले भन्नुभयो, नियमित पानी आपूर्ती गर्न सकिँदैन, उभोक्ताले नियमित शुल्क पनि दिन छाड्यो, यस्तै ताल हो भने बन्द हुन्छ ।’
फनबोर्ड र स्थानियहरुको जनश्रमदानबाट करिब ७६ लाखको लागतमा २०६३ सालमा निर्माण सुरु भएको खानेपानी आयोजना २०६५ सालबाट उपभोक्ताले खानेपानी उपभोग गर्न पाएका थिए । धौखोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर काफलपानी, निगालपानी, हटिया, सार्की गाउँ गरि २ सय घरधुरीले पानी उपभोग गर्दै आएका थिए । तर अहिले पानी १ सय ७० घरधुरीले मात्रै उपभोग गर्ने गरेको उपभोक्ता समितिका सचिव गुरुङले बताउनुभयो । अन्य आम्दानीको स्रोत नभएका कारण खानेपानी संञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो ।
खानेपानी निर्माण भएदेखि अहिले सम्म सरकारी तथा गैह्र सरकारी संस्थाबाट गरि ८ लाख ८० हजार मात्रै सहयोग प्राप्त भएको सचिव गुरुङको भनाई छ । जिल्ला विकास समितिले १ लाख ८० हजार, निलकण्ठ नगरपालिकाले ५ लाख र गैह्रसरकारी संस्था एक्सन नेपालले २ लाख प्रदान गरेको हो । खानेपानी आयोजनामा अहिले मासिक विजुली र कर्मचारी गरि ९० हजार भन्दा बढि खर्च आउने गरेको छ ।
यस्तै शुक्रबार खानेपानी उपभोक्ता समितिको वैठक बसेको छ । वैठकले आम उपभोक्ताहरुलाई सदस्यता नविकरणको लागी सुचना जारी गरेको छ । यहि जेठ २३ गते शुक्रबार बसेको सञ्चालक समितिको निर्णय अनुसार सदस्यता नविकरणको लागि आगामी जेठ २६ गतेदेखि असार ५ गतेसम्मको समय सिमा निर्धारण गरिएको छ ।
सदस्यता नविकरण गर्नको लागि बाँकि बक्यौता रकम भुक्तानी गर्नुपर्ने, २ प्रति पासपोर्ट साईजको फोटो र नविकरण शुल्क बापतको ५० रुपैंया भुक्तानी गर्नु पर्ने सुचनामा उल्लेख गरिएको छ । साथै तोकिएको समय सिमा भित्र बाँकि रकम भुक्तानी गरि सदस्यता नविकरण नगरेमा पानीको लाइन काटिदिने ब्यहोरा समेत उल्लेख गरिएको छ । 
पानी आए पो, पैसा दिनु !
पानीको लागि दिन नै माया मार्नुपर्ने बाध्यता यहाँको बासिन्दालाई अहिले फेरी दोहोरिन थालेको छ । १ लाख ४४ हजार लिटर पानीको दैनिक माग रहे पनि अहिले ४८ हजार लिटर पानी दिनको एकपटक मात्रै आपूर्ती हुँदै आएको छ ।
मर्मत संभार र सुधार गर्ने हो भने माग अनुसारको पानी आपूर्ती गर्न सकिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर गुरुङको भनाई छ । तर कहि कतैबाट सहयोग नपाएकै कारण उपभोक्तालाई भावी दिनमा पानी खुवाउन समस्या हुने अध्यक्ष गुरुङको भनाई छ । कोषमा जातै पैसा छैन, एउटा ट्रान्समिटर विग्रीदा १ लाख भन्दा बढि खर्च आउँछ अध्यक्ष गुरुङले भन्नुभयो उभोक्ता सँग शुल्क उठाउन सकिरहको छैन, पानी चाँहि आउँदैन के को पैसा भन्छन्, एक घरकै ७ हजार भन्दा बढि शुल्क बाँकी छ ।
यता उपभोक्ताहरु भने पानीको पैसा मात्रै लिने तर नियमित पानी उपभोग गर्न नपाएको भन्दै रुष्ट छन् । पहँुच हुने, पैसा हुनेहरुले जती पनि खान पाउने तर हामीले महिनाको २ सय तिरेर खानेलाई चाहि भनेको वेला पानी नदिने काफालपानीकी एकल महिला जगमाया गुरुङ बताउनुहुन्छ । महिनाको १५ दिन पनि राम्रो सँग पानी उपभोग गर्न नपाएको अधिकांस उपभोक्ताहरुको गुनासो छ ।