
धादिङमा ६ वर्षिय वालक सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना र गजुरी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ६ बर्षिय बालक र २९,३४,३६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्यअधिकृत जेशिका थापाले बताउनुभयो ।
यस्तै नीलकण्ठ नगरपालिका वडा नं ८ का ३३ बर्षिय पुरुष र गजुरी गाउँपालिका वडा नं १ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनु भयो । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ३३ पुगेको छ ।
देशभर एकैदिन १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।
अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।