‘कोभिड १९ को अवस्था, गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ धादिङमा सातौ परिवार योजना दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धादिङले शुक्रबार एक कार्यक्रम गरि दिवस मनाएको हो ।

कार्यक्रममार्फत स्वास्थ्य कार्यालय धादिङले कोरोना महामारीका बीच पनि परिवार नियोजनका सेवाहरु नियमित रहेकोले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ । धादिङमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भए पनि अहिले सबै स्वास्थ्य संस्थाबाट यसअघिका परिवार नियोजनसम्बन्धी सेवाहरु सुरु भएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ट जनस्वाथ्य प्रशासक एवम् डाक्टर भुवन पौडेलले बताउनुभयो ।

उहाँले सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ स्वास्थ्य कार्यालबाट सेवा प्रवाह भइरहेको भन्दै सेवा लिन आग्रह गर्नुभयो ।

जनसङ्ख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बताउनुभयो ।

नेपालमा कुल गर्भधारणको ५० प्रतिशत गर्भधारण अनिच्छित रहेको र लकडाउन तथा निषेधाज्ञाका कारण यो सङ्ख्या अझै बढ्ने सम्भावना रहेको निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो ।

कतिपय मानिस विदेशबाट फर्किएर घरमा बसेको, लकडाउनका कारण परिवार नियोजनका सेवा लिन जान नसकेको लगायतका कारण अनिच्छित गर्भधारण बढ्ने भन्दै उहाँले श्रीमान्, श्रीमतीको सल्लाहमा परिवार नियोजनका साधन प्रयोग गर्न आग्रह गर्नुभयो ।

Facebook Comments