बागमती प्रदेशकै सबैभन्दा विकट स्थानमा रहेको रसुवाको प्रहरी चौकी लाङटाङको निर्माणधिन भवनको अनुगमन गरिएको छ । निर्माणाधिन प्रहरी चौकी भवनको आज बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले निरीक्षण गर्नुभएको छ ।
१३ जनाको दरबन्दी निकासा भए पनि जनशक्ति अभावका कारण ४ जना मात्रै प्रहरी कर्मचारी कार्यरत रहेको उक्त प्रहरी चौकीमा प्रहरी नायव महानिरीक्षक दर्जाको प्रहरी कर्मचारीबाट प्रथम पटक अनुगमन भएको हो । रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिकाको वडा नं ४ क्षेत्राधिकार भएको प्रहरी चौकी लाङटाङ, प्रदेशकै सबै भन्दा विकट स्थानमा रहेको प्रहरी ईकाईमा पर्दछ । बागमती प्रदेश सरकारको २ करोड ६४ लाख ४८ हजार ९ सय ८ रुपैयाँमा प्रहरी चौकीको कार्यालय भवन निर्माण शुरु भएको हो । २०६४ सालमा स्थापना गरीएको प्रहरी चौकी भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ ।
प्रहरी चौकीको निरिक्षण गर्नुहुँदै प्रहरी नायव महानिरिक्षक लामाले प्रहरी चौकी भवनको निर्माण कार्य छिटो सक्न ठेकेदार कम्पनीलाई अनुरोध गर्नुभएको छ । निर्माण सम्झौता पाएको निर्माण कम्पनीका व्यक्तिका साथै स्थानीयहरुसंग अन्तर्क्रिरया गर्दै उहाँले यस्तो अनुरोध गर्नुभएको हो । यातायातको साधन नजाने हुँदा निर्माण सामाग्री ढुवानीमा हुने कठिनाई र कोरोनाको संक्रमणका ढिलोगरी निर्माण कार्य थालनी भएको थियो ।

बागमती प्रदेश सरकारले ४७ वटा प्रहरी ईकाई निर्माणको लागि बजेट निकासा गरेको थियो । प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले भौगोलीक बिकटताका कारण आफुले दैनिक भोगिरहेको समस्यालाई भन्दा पर्यटकीय क्षेत्रमा अवस्थीत चौकीमा रहेर नागरिकको सेवामा अहोरात्र खटिएका प्रहरी कर्मचारी प्रसंसाको पात्र भएको उल्लेख गर्दै यस्तो रमणीय पर्यटकीय क्षेत्रमा सेवा गर्ने अवसर सबै प्रहरी कर्मचारीले नपाउने तथ्यलाई मनन गरी आफुलाई तोकिएको जिम्मेवारी पूर्णरुपले सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।

प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले रसुवा जिल्ला अन्तर्गत निर्माणाधिन सिमा प्रहरी चौकी टिमुरेको कार्यालय भवनको समेत निरीक्षण गर्नु भएको थियो । अनुगमनको क्रममा प्रदेश प्रहरी प्रमुखका साथै प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी लगाएतका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।