
धादिङको त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला आजदेखी सुरु भएको छ । आईतबारदेखी सुरु भएको मेलामा गत वर्षहरुमा जस्तो भिडभाड भने नरहेको स्थानियले जानकारी गराएको छ । कोरोना भाईरस महामारीका कारण यस वर्ष सामान्य पुजाआजा मात्रै हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
हजारौं मानिसहरुले सहभागि जनाउने यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले परिचित छ । कोभिडको संक्रमणको जोखिमलाई ख्याल गर्दै यस वर्षको जात्रा विगतको जस्तो नहुने त्रिपुरासुन्दरी माई मन्दिरका पुरोहित अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मेलामा पुजा गर्न आउने भक्तजनहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गर्नुपर्ने, सिमित व्यक्तीको उपस्थितिमा भौतिक दुरी कायम गर्दै त्रिपुरासुन्दरी माईको डोली सवार गरि पुजा सम्पन्न गर्न लागेको पुरोहित सापकोटाले बताउनुभयो ।
विगतका वर्षहरुमा हुने गरेका खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र व्यापारिक प्रयोजनका स्टलहरु यस वर्ष जात्रामा निशेध गरिएको छ । आईतबारदेखी सुरु भएको मेला भोली सम्म चल्नेछ ।
सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौ लगायतका ठाउँबाट भक्तजनहरु पुग्ने गर्दछन् । नेपाल एकीकरणको बेला पृथ्वीनारायण शाहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने शिलालेखमा उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाह वंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिञ्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ ।
रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।