
नेपाल टेलिकम धादिङको निर्माणाधिन भवन सम्पन्न भएको छ । भवन बनेसँगै नयाँ भवनबाट टेलिकमले सेवा पनि शुरु गरेको छ । नयाँ भवनबाट सेवा सुरु गरेको नेपाल टेलिकमले नयाँ भवनमा टावर राख्ने, शहरी क्षेत्रमा फाइवर नेटवर्कको व्यवस्था जस्ता अन्य सेवाहरु विस्तार गरेको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख श्याममणी अर्यालले बताउनुभयो ।
भाडाको घरमा बस्दा सेवा विस्तारमा समस्या थियो । न टावर राख्न पाउनु, न उपकरणहरुको व्यवस्थित गर्न सक्नु । सुरक्षाको दृष्टिकोणले पनि जोखिम थियो । त्यति मात्र होइन मासिक ८० हजार त भाडा नै ति¥यौं । भवन बनाउन सम्झौता भएदेखि मात्रै ७० लाख भाडा तिर्याै । एउटा भवनै गुमाए बराबर भएको उहाले बताउनुहुन्छ ।
टेलिकमको भवन निर्माणका लागि चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७१ साल बैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने थियो । २ करोड २ लाख ४८ हजार ७ सय ८९ रुपियाँ ७८ पैसामा सम्झौता गरिएको भवन अलपत्र बनेको अर्यालले बताउनुभयो ।
पटक पटक समयसिमा थपेको ठेकेदारले निर्माणाधिन भवनलाई पूर्णता दिन नसक्दा उल्टै करिव ९५ लाख जरिवाना भएको छ । तर भुकम्प र पैसा निकासा जस्ता कारण देखाई निर्माण कार्य रोकिएपछि नयाँ ठेकेदार कम्पनी ओम कुण्डलेश्वर प्रा. लि लाई जिम्मा दिएको अर्यालले बताउनुभयो । अलपत्र टेलिकम भवन निर्माणका लागि १ करोड ९६ लाख ४६ हजार ५ सय १० रुपियाँ ६४ पैसामा ओम कुण्डलेश्वर प्रा. लि.ले सम्पन्न गरेको उहाले बताउनुभयो । नयाँ भवन सम्पन्न पछि असोज १५ गतेबाट नयाँ भवनबाट सेवा सुरु गरेको अर्यालले बताउनुभयो ।