जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत पुष २४ गते धुनीवेशी नगरपालिका ४ धादिङकी ७५ वर्षिय सान्नानी सार्कीको हत्या गरि फरार भएका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

पक्राउ पर्नेमा घटनामा संलग्न मकवानपुरका २५ वर्षिय अनिल थिङ भन्ने जयबहादुर सिंगार, खोटाङका ३२ वर्षिय साजन विक, ओखलढुङ्गाका अबिसराज कार्की रहेका छन् । त्यसैगरी, लुटिएको गर गहना खरिद गर्नेमा काभ्रे जिल्ला घर भइ हाल काठमाडौं कालिमाटीमा धनरत्न सुन चाँदी पसलका संचालक ४२ वर्षिय धन बहादुर कालिराज र सुन विक्रि गर्न सघाउने नुवाकोटकी ३३ वर्षिय पुष्पा कुमारी पौडललाई पक्राउ गरिएको हो ।

एसपी खड्काका अनुसार प्रतिवादीहरुले वृद्धाको ज्यान लिनुका साथै निजले लगाएको गरगहना समेत लुटेर लगेका थिए । लुटेर लगेको गरगहना ५० हजार ३८९ नगदमा विक्रि गरी रकम भागबन्डा गरेको अनुसन्धानबाट खुलेको हो । प्रहरीको विशेष अनुसन्धानमा उनीहरु विभिन्न समय र ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट सुनका गर गहना समेत प्रहरीले बरामत गरेको हो ।

प्रतिबादीहरु विरुद्ध मुलकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर र सोहि संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धिको कसुरमा अनुसन्धान भैरहेको एसपी खड्काले बताउनुभयो ।

 

Facebook Comments