२० फागुन,२०७७
जिल्ला समन्वय समिति धादिङको आयोजनामा भोलिदेखि सुरु हुने अन्तर पालिका समन्वय कप फुटबल प्रतियोगीताको ट्राईसिट आज सार्वजनिक गरिएको छ । जस अनुुसार पहिलो दिन अर्थात फागुन २१ गते दुईवटा खेल हुने भएको छ । पहिलो खेल खनियाबास गाउँपालिका भरसेस गजुरी गाउँपालिका र दोस्रो खेल नेत्रावती डबजोङ गाउँपालिका भरसेस थाक्रे गाउँपालिकाको बीचमा खेल हुनेछ । दोस्रो दीन अर्थात फागुन २२ गते भने तीन वटा खेलहरु हुनेछन् । जसमा पहिलो खेल धुनीबेसी नगरपालिका भरसेस त्रिपुरासुन्दरी गाउँपालिका, दोस्रो खेल ज्वालामुखी गाउँपालिका भरसेस गल्छी गाउँपालिका र तेस्रो खेल रुविभ्याली गाउँपालिका भरसेस नीलकण्ठ नगरपालिकाको बीचमा हुने भएको छ । त्यसै गरी तेस्रो दीन अर्थात फागुन २३ गतेको पहिलो खेल, पहिलो दिनको, पहिलो खेलमा विजेता हुने टीम र दोस्रो दिनको पहिलो खेलमा विजेता हुने टिमको बीचमा प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल सिद्धलेक गाउँपालिका भरसेस वेनिघाट रोराङ गाउँपालिकाको बीचमा हुनेछ । तेस्रो दिनको अन्तिम खेल भने पहिलो दिनको दोस्रो खेलको विजेता र दोस्रो दिनको तेस्रो खेलको विजेताको बीचमा प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी अन्तिम दिन अर्थात फागुन २४ गते सेमिफाईनल र फाईनल सहित ३ वटा खेलहरु हुने आयोजक संस्था / कार्यालय जिल्ला समन्वय समिति धादिङले जनाएको छ ।



प्रतीयोगीताको उद्घाटन भोलि बिहान ११ः०० बजे राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार शिलवालले गर्ने भएको छ । धादिङ जिल्लामा रहेको १३ वटै स्थानीय तहका फुटबल टीमहरुको बीचमा, नकआउट सिस्टममा हुने यस प्रतियोगीता अत्यान्तै अनुशासित, सभ्य र भव्य रुपमा सम्पन्न हुने आयोजकले जनाएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित, धादिङ जिल्लाको पहिलो र गुरुङ समुदायबाट संचालित पात्ले होमस्टेमा संचालन हुने यस फुटबल प्रतियोगीतामा सहभागी हुनको लागी आजैदेखि विभिन्न नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि तथा खेलाडिहरु आएको स्थानिय सहयोगी बुद्धभूमी युवा समाजका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । साथै खेलको सम्पूर्ण तयारी पनि पुरा भएको जनाएको छ ।
प्रतीयोगीतामा प्रथम हुने टिमलाई प्रथम पुरस्कार स्वरुप नगद रु. १ लाख, द्धितिय पुरस्कार रु.५० हजार, तृतिय पुरस्कार रु.२० हजार र सान्त्वना पुरस्कार रु.१० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिने आयोकले जनाएको छ ।