मंसिर १३, धादिङ ।
धादिङको सिद्धलेक गाउपालिका वडा नम्वर २ झगरेस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय दयाराम सिलवालले बारीमा सिंचाइको लागि पानी जमाएको प्लाष्टिक पोखरीमा डुबेर स्थानीय कृष्ण नेपालीका छोरा ६ वर्षिय किसन नेपालीको मृत्यु भएको हो ।

मंङ्गलबार दिउसो करिब साढे २ बजे पोखरी नजिकै भोगटे टिप्न रुखमा चढ्दा चिप्लिएर पोखरीमा खसेकोे र बाहिर निस्कन नजान्दा पोखरीमै डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएका छन् । बालक डुबेको उक्त पोखरीको गहिराइ ५ फिट रहेको प्रहरीले जानकारी दिएको छ । बालक डुबेको थाहा पाउनसाथ स्थानीयले नलाङ बैरेनी प्रहरीलाई खबर गरेका थिए । घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय बैरेनीका प्रमुख एवम् असइ रङ्गलाल यादवसहितको टोली घरनास्थलमा पुगेको थियो ।

प्रहरीले मृत बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको बताइएको छ । सिंचाइको सुविधाको लागि निर्माण गरेको पोखरीमा डुबेर बालकको मृत्यु भएपछि सिद्धलेक गाउपालिका वडा नम्वर २ का वडाअध्यक्ष कमलबहादुर गुरुङले गाउमा पोखरी निर्माण गर्दा धेरै गहिराइको पाखरी निर्माण नगर्न, गाउमा भएका पोखरीलाई सुरक्षित, व्यवस्थित बनाउन तथा पोखरीको वरीपरि बार बार्न सुझाव दिनुभयो ।

Facebook Comments