१५ असार,धादिङ ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं, भक्तपुर र ललितपुर  ३ वटै जिल्लामा थप एक साता अर्थात असार २१ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । निषेधाज्ञा थप गरिएसँगै सार्वजनकि यातायात भने संचालन गर्ने निर्णय पनि गरेको छ । उपत्यकामा विगत दुई महिनादेखि निषेधाज्ञा जारी रहेको छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमित मानिसको संख्या घट्दो, निको हुनेको संख्यामा वृद्धि र मृत्युदर घटेका कारण जारी निषेत्राज्ञा खुकुलो बनाउँदै लगिएको छ ।

आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालनमा आएको छ । सोमबार बसेको काठमाडौं,भक्तपुर र ललितपुर  ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा थप केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न  दिने निर्णय गरेको थियो ।

सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न  नपाउने व्यवस्था गरिएको छ । सवारी चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने जस्ता मापदण्डहरु तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न पाउने निर्णय गरिएको छ ।

Facebook Comments