धादिङको गजुरी गाउँपालिका–६, जरेबगैँचास्थित भानुभक्त माध्यमिक विद्यालयमा आयोजित एकीकृत स्वास्थ्य शिविरबाट ३५१ जना नागरिकले सेवा लिएका छन् ।
गजुरी गाउँपालिकाको आयोजनामा ‘स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा सामान्य चिकित्सा, बालरोग, छालारोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा ट्रमा सर्जरी, मनोसामाजिक परामर्श र स्वास्थ्य सचेतनासम्बन्धी सेवा प्रदान गरिएको थियो।
शिविरका क्रममा जटिल प्रकृतिका रोग भएका १० जना बिरामीलाई थप परीक्षण तथा उपचारका लागि काठमाडौं रेफर गरिएको शिविर संयोजक डा. राम थापा क्षेत्रीले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रिनिङ गरिएको शिविरमा पाठेघर खस्ने समस्या भएका पाँच जना महिलाको परीक्षण तथा उपचारसमेत गरिएको थियो । आँखासम्बन्धी समस्या भएका तीन जनालाई पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
स्वास्थ्य सेवासँगै विपन्न तथा सीमान्तकृत चेपाङ समुदायलाई ५१ बोरा खाद्यान्न र न्यानो कपडा वितरण गरिएको थियो। बालबालिकालाई मनोसामाजिक परामर्श तथा बालमैत्री सिकाइसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
शिविरमा नौ जना चिकित्सक, पाँच जना प्यारामेडिकल स्वास्थ्यकर्मी लगायत स्वास्थ्य टोली परिचालन गरिएको थियो। नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, माउन्टेन हार्ट नेपाल, वोरेक नेपाल, नवजीवन परोपकार समाज तथा कीर्तिगङ्गा मेडिकल सेन्टरलगायत संस्थाले प्राविधिक सहयोग र समन्वय गरेका थिए ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सशस्त्र प्रहरी बल नेपालका एसएसपी डा. भरत चन्दले बालरोग सेवा प्रदान गर्नुभएको थियो भने डीएसपी डा. सबिना महर्जनले छालारोग, डा. निरोज कार्कीले हाडजोर्नी तथा ट्रमा सर्जरी र डा. सोनी नेवाःले स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बल नेपालकी डीएसपी डा. हिमानी पौडेलले आन्तरिक चिकित्सासहित सामान्य चिकित्सा सेवा दिनुभएको थियो भने डा. निशान्त श्रेष्ठ र डा. विशाल कुँवरले पनि सामान्य चिकित्सा सेवा प्रदान गर्नुभएको थियो ।
शिविर संयोजक डा. राम थापा क्षेत्रीले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता एकीकृत शिविर प्रभावकारी हुने बताउनुभयो । उहाँले रोगको प्रारम्भिक पहिचान, आवश्यक उपचार र समयमै रेफरलमार्फत स्वास्थ्य जटिलता न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
शिविरमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष भक्तबहादुर लामा, वडा नं. ५ का अध्यक्ष बद्री जम्कट्टेल लगायतले सम्मान गरेका थिए ।











