धादिङको फुर्केखोलामा अस्थायी पुल निर्माण तथा सञ्चालनका लागि बर्दियाको कुठियाघाटमा रहेको पन्टुन पुल धादिङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालय बर्दियाले ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै मार्फत जिल्ला प्रशासन कार्यालय धादिङलाई पन्टुन पुल हस्तान्तरण गरेको हो। पन्टुन पुल हस्तान्तरणसम्बन्धी मुचुल्काअनुसार पुलको एक सेटसँगै ६ थान मोटरबोटसमेत धादिङलाई उपलब्ध गराइएको छ।
पुल सञ्चालन तथा जडानका लागि आवश्यक पन्टुन बक्स, र्याम्प, र्याम्प बे लगायतका सामग्री हस्तान्तरण गरिएको कागजातमा मुचुल्कामा उल्लेख छ। भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङको ८ वटा गाउँपालिका र गोरखा जिल्लाका केहि गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि सडक आवागमन अवरुद्ध भएको थियो।
सर्वसाधारण तथा मालसामानको ढुवानीमा गम्भीर असहजता उत्पन्न भएपछि अस्थायी पन्टुन पुल उपलब्ध गराउन जिल्लाका १३ वटै स्थानिय तह मिलेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय बर्दिया लगायत सम्वन्धित निकायसँग समन्वय र पहल गरेको थियो।
पत्रकार पोषनाथ अधिकारीका अनुसार पन्टुन पुलका सामग्री ट्रकमा लोड गरी आज विहिवार नै धादिङको फुर्केखोलातर्फ पठाइएको छ। फुर्केखोलामा पन्टुन पुल जडानका लागि धादिङका १३ वटै स्थानीय तहले साझा रूपमा खर्च व्यवस्थापन गर्ने सहमति गरेका छन्।
पुल सञ्चालनमा आएपछि धादिङका विभिन्न स्थानीय तहसँगै गोरखाका नागरिकलाई समेत आवागमनमा सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि पुल नहुँदा सास्ती भोग्दै आएका नागरिकका लागि अस्थायी पन्टुन पुलको व्यवस्था हुने भएपछि राहतको महसुश गरेका छन् ।











